Categories
Uncategorized

साहित्यकार प्रा.डा. विष्णु राज आत्रेय `लाटो साथी´ को निधन भएको छ !

काठमाडौँ — संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा.डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ । वि.सं. २००३ साल पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको शनिबार आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो ।
उनी क्यान्सर रोगबाट पीडित थिए । संस्कृत, नेपाली र अवधि भाषामा कलम चलाउने डा. आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । संस्कृत भाषामा लेखिएको ‘हनुमदयन’ महाकाव्यका लागि उनले वि.सं. २०७५ को जयतु संस्कृतम् पुरस्कार प्राप्त गरेका थिए ।
‘कपिलधाम’ उपन्यासमा बुद्ध जन्मस्थल लुम्बिनी एवं कपिलवस्तुको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका साथै ऋषि कपिलका विषयमा पनि उनले प्रकाश पारेको भूमिका लेखक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए ।
भाषा, साहित्यका साथै धर्म, अध्यात्म, इतिहास, शिक्षालगायत क्षेत्रमा उनको रुचि थियो । घरपरिवारमा संस्कृतमै वार्तालाप गर्ने साहित्यकार आत्रेयले लामो समय नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत रहेर काम गरेका थिए । शनिबार नैपशुपति आर्यघाटमा वैदिक विधिअनुसार उनको अन्त्येष्टि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *